१० जेठ २०८२, शनिबार

पुरस्कृत गर्ने किसान छान्न धान भर्दै पाँचथरका गाउँपालिका

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, मंसिर ०५, २०८१

पाँचथर — पचास मुरीभन्दा बढी धान फलाउने किसानलाई पुरस्कृत गर्दै आएको फाल्गुनन्द गाउँपालिकाले यो वर्ष उत्पादन भएको धानको तौल लिन सुरु गरेको छ ।पालिकाबाट जनप्रतिनिधि र कर्मचारी किसानका खला–खेतमै पुगेर धानको लेखाजोखा गरिरहेका छन् ।

गाउँपालिकाले यसअघि सार्वजनिक सूचना जारी गर्दै पचास मुरीभन्दा धेरै धान फलाउने किसानलाई दाबीसहित सम्बन्धित वडा कार्यालय, गाउँपालिका वा कृषि शाखा मार्फत निवेदन माग गरेको थियो ।

पालिकाका ४२ जना किसानले पचास मुरीभन्दा बढी धान फलाएको भन्दै पुरस्कारका लागि छनौट प्रक्रियामा भाग लिन निवेदन दिएका थिए ।ती मध्ये एक सय मुरीभन्दा धेरै धान फलाउने आवेदक किसान ७ जना छन् । बाँकी ३५ जनाले ५० मुरीमाथि धान फलाएको दाबी गरेका छन् । दाबीसहित निवेदन दिएकामध्ये तीन जनाको खेतमा पुगेर धान भर्ने काम सकिएको गाउँपालिकाले जनाएको छ ।

किसानले धान काट्ने र दाँई गर्ने क्रम जारी रहेकाले लेखाजोखा सक्न मंसिर महिनाभर लाग्ने गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए ।पालिकाले गत आर्थिक वर्षबाट पचास मुरीदेखि एकसय मुरी धान फलाउने किसानलाई नगद ३० हजार र एक सय मुरी भन्दा बढी फलाउनेलाई पचास हजार रुपैयाँका दरले पुरस्कार दिन थालेको हो । बढी धान फलाउने किसानलाई पुरस्कार दिन थालेको यो दोस्रो वर्ष हो ।

गत वर्ष फाल्गुनन्द–१ नवमीडाँडाका मकर तामाङले सर्वाधिक १ सय ६८ मुरी धान फलाएका थिए । पालिकाले गत वर्ष उनीसहित २८ किसानलाई पुरस्कृत गरेको थियो ।

खेतीयोग्य जमिन बाँझो छोडेर बसाइँ सर्ने, युवापुस्ताको पलायन र परम्परागत कृषि प्रणालीलगायत कारण धान खेती गर्ने किसानको संख्या घटिरहेकाले आकर्षण बढाउन ५० मुरी भन्दा धेरै धान फलाउने किसानलाई पुरस्कृत गर्ने नीति ल्याएको अध्यक्ष आङदेम्बेले बताए । फाल्गुनन्द जस्तै मिक्लाजुङ गाउँपालिकाले पनि २०७८ सालदेखि ५० पचास मुरी भन्दा धेरै धान र २२ फिट भन्दा लामो थाङ्ग्रो भरी मकै फलाउने किसानलाई पुरस्कृत गर्दै आएको छ ।

किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि आफ्नो जग्गा नभएका किसानले पनि अर्काको जग्गा अधिँया कुतमा लिएर धान रोप्न थालेको जनप्रतिनिधिहरु बताउँछन् । स्थानीय तहले धेरै अन्न फलाउने किसानलाई पुरस्कृत गर्ने नीति ल्याएपछि बाँझो जमिनमा पुनः खेती गर्न थालेको फाल्गुनन्द–७ का किसान गणेश चेम्जोङ बताउँछन् ।

कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार गत वर्ष जिल्लामा ५ हजार ८ सय ८५ हेक्टर जमिनमा धान खेती गरिँदा १३ हजार ९ सय ४७ मेट्रिकटन उत्पादन भएको थियो । यो वर्ष असोज ८ देखि १२ गतेसम्मको वर्षा र बाढीले भित्र्याउने अवस्थामा पुगेको धान बगाउँदा उत्पादन घट्ने अनुमान गरिएको छ ।

यो वर्ष ५ हजार ६ सय १५ हेक्टर जमिनमा धान खेती गरिएको छ भने १३ हजार ३ सय ०७ मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको केन्द्रका सूचना अधिकारी केशर मंग्रातीले बताए ।

पाचथरका पत्रकार लक्ष्मी गौतमले लेखेको यो समाचार कान्तिपुर अनलाईनवाट साभार गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066