असार ११, २०८३
ताप्लेजुङ – अघिल्लो वर्ष १ सय ५० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको दौँतरी नेपालले यसवर्ष ताप्लेजुङका २ सय ३ विद्यार्थीकालागि सामग्री हस्तान्तरण गरेको छ । ६ वटा विद्यालयका लागि एक सेट ट्रयाक सुट, एउटा झोला, एक जोर गोल्डस्टार जुत्ता, अभ्यास पुस्तिका, डटपेन, जमिर्टि बक्स लगायतका सामग्री रहेका छन् ।
ताप्लेजुङ विकास मञ्च मार्फत शैक्षिक सामग्री पाउनेमा सिरिजङ्गा गाउँपालिका १ सिनामको भगवती आधारभुत विद्यालय र महेन्द्र आधारभुत विद्यालय खेवाङ, पाथीभरा याङवरक गाउँपालिका ५ डुम्रिसेको सिद्देश्वरी मावि, मेरिङदेन गाउँपालिकाको सुर्यदेवी मावि तथा फक्ताङलुङ गाउँपालिकाका तुलसी आधारभुत विद्यालय र भगवती आधारभुत विद्यालय रहेका छन् ।
दौँतरीले ताप्लेजुङमा ७ वर्षदेखि शैक्षिक सामग्री सहयोग गर्दै आएको विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईँले जानकारी दिए । सामग्री हस्तान्तरणकालागि दौँतरीका अध्यक्ष सम्पन्न स्थापित र कोषाध्यक्ष सहितको टोलि सदरमुकाम फुङलिङसम्म आएका थिए ।
